दाहाल सेवा समाज नेपाल

दाहाल सेवा समाज नेपाल

स्थापित २०६०

अन्नपूर्ण-१, कास्की


स्वागतम्
दाहाल सेवा समाज नेपालले आफ्ना सम्पुर्ण अभिलेख , बशावलि बशंबृक्ष समेतलाई डिजिटल बनाई आफ्नै वेब साईटमा सामाबेश गर्नेकाम भईरहेकाे हुदा याे प्रारम्भिक समयमा आफ्नाे बंशावलि किताममा छुट हुन गएकाे बिवरण तथा सुधार अन्य बिषयहरु लिखित रुपमा आफ्नाो स्थानिय समिति मार्फत कार्यसमिति सदस्यहरूलाई जानकारि गराउनु हुन समाज हार्दिक अनुराेध गर्दछ । धन्यवाद दाहाल सेवा समाज नेपालले आफ्ना सम्पुर्ण अभिलेख , बशावलि बशंबृक्ष समेतलाई डिजिटल बनाई आफ्नै वेब साईटमा सामाबेश गर्नेकाम भईरहेकाे हुदा याे प्रारम्भिक समयमा आफ्नाे बंशावलि किताममा छुट हुन गएकाे बिवरण तथा सुधार अन्य बिषयहरु लिखित रुपमा आफ्नाो स्थानिय समिति मार्फत कार्यसमिति सदस्यहरूलाई जानकारि गराउनु हुन समाज हार्दिक अनुराेध गर्दछ । धन्यवाद

दाहाल बशको सामाजिक सास्किृतिक परिचय


दाहाल वंशका सोह संस्कारहरु

कास्की जिल्लाका दाहालहरुले सामाजिक सांस्कृतिक स्थितिको अध्ययन गर्दा निम्नानुसार सोह्र संस्कारहरु रहेको पाइन्छ । हिन्दू दर्शनहरुमा उल्लेख गरिएका ती संस्कारहरु दाहालहरु पनि अवलम्बन गर्दछन् ।


१.	गभ
	जीवात्मालाई गर्भमा स्थापित गर्ने काम गर्भाधान हो । दाम्पत्य जीवनको एउटा प्रमुख उद्देश्य असल गुणले युक्त निरोगी, दीर्घायु र सुशील सन्तान जन्माउनु पनि हो ( अधिकारी, २०६३ ः ५) । गर्भाधान पहिलो संस्कार हो ।
२.	पुंसवन
	पुंसवन भन्नाले गर्भको सन्तान पुरूष जन्मोस, गर्भ सर्वथा निर्दोष होओस र गर्भको बालकलाई ज्ञान खुलोस, उसलाई आफ्नो (पूर्व) अवस्थाको पनि स्मरण होस् र साथै क्षेत्र पनि सुसंस्कृत होओस् भनेर गरिने संस्कारलाई भनिन्छ (भट्टराई, २०५६ः१४०) । स्त्री जातिलाई गर्भ रहेको दोस्रो वा तेस्रो महिनामा गर्भ स्पष्ट देखिएपछि राम्रो तिथि वारहरु हेरेर हस्ता, स्वाती, अनुराधामध्ये कुनै एउटा नक्षेत्रमा चन्द्रमा भएको दिन पारेर पुंसवन संस्कार गरिन्छ । यो संस्कार गर्दा गर्भिणी र उनका पतिले स्नान गर्नुपर्छ । यसरी शुद्ध भएर चोखो बस्त्र लगाई उपवास बस्ने र लिपपोत गरेको ठाउँमा आसनमा बस्न लगाई दियो वाली गणेश स्थापना गरी र इष्टदेवताको स्मरण गरेर गोदान गरी ब्राम्हणलाई टीका लगाई दिनुपर्छ ।
३.	सीमन्तोन्नयन
	सीमान्त भन्नाले कपालको सिउँदोलाई भन्दछन् । उन्नयन माथि लैजानु हो । त्यसकारण सीमान्तोन्नयन भन्नाले सामान्यतः सिउँदो काटेर माथितिर लैजानु भन्ने बुझिन्छ (भट्टराई, २०५६ ः १५९) । स्त्रीलाई पहिलो पाला गर्भ रहेको छ महिना वा आठ महिना लागेपछि शुभ दिन, वार, ग्रह नक्षत्र मिलाई विहान पतिले आफ्नी गर्भिणी पत्नीलाई सर्वोषधिहरु मिसेको जलले मङ्गलस्नान गर्न लगाएर नयाँ बस्त्र पहिरिएर दीप प्रज्वलन गरी गणेश र इष्टदेवताको स्मरण गरिसकेपछि ब्राम्हणलाई टीका लगाई दान दक्षिणा गर्ने ।
४.	जातकर्म (जन्म)
	बालक जन्मेपछि त्यसको संस्कारार्थ शास्त्रोक्त विधिले गरिने कर्मलाई जातकर्म भन्दछन् (भट्टराई, २०५६ ः २९१ ) ।
जन्मपछि गरिने कर्मलाई जात कर्म भनिन्छ । जन्मनु भनेको उत्पति हुनु हो । मानव मात्रको उत्पतिको विषयमा चर्चा गर्दा पुरूष र स्त्रीको संसर्ग भै ९ महिना आमाको गर्भमा रही पृथ्वीमा पदापर्ण हुनुलाई जन्म भनिन्छ । हिन्दू संस्कारमा जन्मको ज्यादै महत्त्व छ । तथापि छोरा जन्मदा वढी खुशी हुने र छोरी जन्मदा खुशी नहुने चलन पनि रहेको छ । हिन्दू धर्ममा छोराले पितृको काजकिरिया श्राद्ध गर्दछ । यसरी श्राद्ध गर्नाले स्वर्गमा पुगिन्छ भन्ने भनाइ छ (गरूड पुराण) । छोरा नभएको परिवारमा छोरीले बाबु आमाको १३ दिनसम्म काजकिरिया गर्ने गरेको देखिन्छ । अर्को तर्फ छोरीले काजकिरिया त गर्दछन् तथापि हिन्दू धर्म एउटा अध्यात्मवादी दर्शन भएकाले संस्कार र संस्कृतिको निर्माण भिन्न ढंगले भएको छ । त्यही संस्कारलाई सवै हिन्दू धर्मावलम्वीले ग्रहण गरी आएका छन् । दाहाल समुदायमा पनि यही विश्वास रहेको छ । यही आस्था र विश्वासका आधारमा छोरा नपाई तरिदैन अर्थात् स्वर्गमा पुगिदैन भन्ने विश्वास छ । त्यसैले छोराको पर्खाइमा धेरै सन्तान हुने, वहुविवाह हुने चलन पनि कायमै छ । जेहोस् वर्तमान भौतिकवादी युगमा छोरीले काजकिरिया गरेका उदाहरण पनि पाउन सकिन्छ ।
	जन्मनु स्वाभाविक रूपमा शुभ लक्षण हो । मानव मात्रका बारेमा चर्चा गर्दा जन्मनु भनेको पृथ्वीमा पदार्पण गर्नु हो । जन्मिसकेपछि उसका संपूर्ण ढोकाहरु खुला भएको मानिन्छ । दाहाल समुदायमा पनि जन्मलाई महत्वपूर्ण पर्वको रूपमा लिने गरेको पाइन्छ । वर्तमान समयमा कुनै व्यक्तिले सन्तान उत्पादन गरेपछि उसलाई वधाइ ज्ञापन गर्ने चलन छ । यस अघि आशिर्वाद दिने चलन थियो । हिन्दू धर्ममा छोरालाई महत्वपूर्ण स्थान दिइएको छ । त्यसैले दाहाल समुदायमा पनि छोरा जन्मदा वढी खुशी हुने र छोरी जन्मदा कम खुशी हुने गरेको पाइन्छ । सन्तान उत्पादन गर्ने भन्ने कुरा एउटा प्राकृतिक भएकोले धर्म र संस्कृतिले जे भने पनि उन्नति र प्रगतिको कुरा हो । जन्मेको छैटौं दिन भावीले भाग्य रेखा कोर्ने दिन हो त्यसकारण भव्यता पूर्वक मनाउनु पर्छ भन्ने भनाइ दाहाल समुदायमा पनि रहेको छ । दाहाल समुदायमा छैटीका दिन उसको भविष्य निर्धारण हुन्छ भन्ने विश्वाश लिईएको देखिन्छ । धार्मिक, आस्था र विश्वासका कारण यो अमिट छाप रहिरहेको छ । भावी भन्ने जुन काल्पनिक परिकल्पना हो त्यसलाई अझै पनि दाहाल समुदायका मानिसमा विश्वास छ । हुनत हरेक मानिसको भाग्य र भविष्य, परिवार, समाज र वातावरणले निर्धारण गर्दछ । तथापि दाहाल समुदायमा चेतनाको विकास गराउन पर्ने आवश्यकता एकातिर छ भने आर्थिक अवस्थाका कारण शिक्षा, स्वास्थ्यबाट वञ्चित हुन परेको यथार्थताले पनि अन्य कुरा निर्धारण गर्दछ । जेहोस दाहाल समुदायमा हरेक वालवालिका जन्मेको छैटौ दिन छैटी मनाउने चलन यद्यपि कायम छ ।
	जन्मको एघारौ दिनको दिन न्वारान गर्ने चलन छ । न्वारनको दिन नाम राख्ने गरिन्छ । न्वारान भनेको शुद्ध गर्ने काम वा अर्को अर्थमा चोवख्याउने काम हो । बालवालिका जन्मेको ११ दिनसम्म सुतक परेको र त्यो समयमा अन्य कार्जे (कार्य) गर्न हँुदैन भन्ने प्रचलन रहेको छ । जन्मेको ११ दिनको दिन न्वारान कार्य गरेपछि शुद्ध हुने चलन छ । त्यसपछि महत्वपुर्ण धार्मिक कार्य गर्न उपयुक्त मानिन्छ । त्यसैगरी सुतक कुनै चाड पर्वमा परेमा त्यो चाड पर्व, धर्म र परम्परा अनुसार त्यसवर्ष गरिदैन । यो कार्य आफ्ना भाइ वन्धुहरु सवैलाई लागू हुन्छ । यो समयमा अन्य विवाह, व्रतवन्ध, रूद्री, पुराण, दशै, तिहार लगायतका पर्वहरु सुतक लागेको कारण मनाउन हुदैन भन्ने भनाइ भएकोले मनाइदैन । जन्मदा सुत्केरो र मर्दा जुठो बार्ने चलन दाहाल समुदायमा यद्यपि कायम छ । यसरी जुठो सुत्केरी वार्ने काम १३ दिने दाजु भाइभित्र मात्र हुन्छ ।
	आजकाल जन्मपछिको समय राम्रो हो सुतक वार्न पर्दैन भन्ने भनाइहरु पनि यदाकदा सुन्नमा पाइन्छ । तथापि समाजले यस कुरालाइ स्वीकार गरेको छैन । एघारौं दिनको दिन बच्चाको नाम राख्ने, रक्षा बन्धन बाँधने चलन छ । सो दिन पण्डितले न्वारन गरी मन्त्रणा गरेको जलले अविशेक गरेपछि शुद्ध भएको मानिन्छ । नौ दिनको दिन सम्पूर्ण कपडाहरु धुने घर लिपपोत गर्ने कार्य गरी सरसफाईका कामहरु भैरहेका हुन्छन् । यी सवै कार्यहरु दाहाल समुदायमा पनि रहेको पाइन्छ । न्वारन भनेको बच्चाको नाम राख्ने दिन पनि हो । त्यसैले भन्ने गरिन्छ मेरो न्वारन खाएको थिइस र नाम राख्छस् । त्यो दिन पण्डितले राशी बाट जुरेको नाम राखिदिन्छन त वावु आमाले आफू खुशी वच्चाको नाम राख्ने गरेको पनि पाइन्छ र देखिन्छ । त्यसैगरी नजिकका आफन्त वा शुभचिन्तकले माया मानेर नाम राखिदिएको पनि पाइन्छ । न्वारनकै दिन आफ्नो गच्छे अनुसार दाजु, भाइ, इष्टमित्र आदिलाई निमन्त्रणा गरी भोज भतेर र मिष्ठान्न खुवाउने प्रचलन आजकाल वढी मात्रमा भएको पाइन्छ । त्यसैगरी वच्चा जन्मेको छ महिनामा पास्नी गर्ने चलन छ । पास्नी भन्नाले ६ महिनापछि वच्चा वार्मेसर्ने भै सकेको हुन्छ उसलाई आमाको दूधको अलवा ठोस पदार्थ आवश्यक पर्छ । त्यो आवश्यकता पूरा गर्न भात खुवाइ गरिन्छ । यो परम्परा दाहाल समुदायमा पनि रहेको पाइन्छ ।
	वर्ष दिन पुगेपछि कपाल काट्ने गरिन्छ । यसलाई पनि एउटा पर्वको रूपमा लिइन्छ । छोराको हकमा कपाल काटिन्छ त छोरीको हकमा लागु हुदैन । त्यसैगरी ७ वर्ष भए पछि व्रतवन्ध गर्नुपर्छ भन्ने पुरानो परम्परा हो तथापि आजकाल ९ वर्ष, ११ वर्ष, १३ र १५ वर्ष भित्र कर्म चलाउनु पर्दछ भन्ने मान्यता रहेता पनि आवश्यकता अनुसार २५, ३० वर्षको भए पछि एकैचोटी व्रतवन्ध, विवाह गरिदिने पनि गरेको देखिन्छ । जे होस वर्तवन्ध भनेको सवै काम व्यवहार गर्न योग्य भयो भनी प्रमाणित गर्ने हो भन्ने बुझ्दा राम्रो होला जस्तो लाग्दछ । किनकि कुनै महत्वपूर्ण पुराण, सप्ताह आदि गर्न होस् वा वावु आमाको काजक्रिया गर्न होस् वर्तवन्ध गरिएपछि मात्र योग्य मान्ने चलन छ । व्रर्तवन्ध नगरिएकालाई उमेर ठूलो भएपनि कर्म नचलेको मान्ने गरिन्छ ।
	छोरीको विवाह पहिले पहिले ७ वर्ष भित्रमा कन्यादान दिने चलन थियो । आजकाल परिवर्तन भैसकेको छ । पर नसर्दै वा कपाल नुहाउने नहुदै वा नछुने नहुदै विवाह वा कन्या दान गरिदिनु पर्दछ भन्ने पुरानो मान्यता आजकल हराउँदै गएको छ । कानुनले पनि छोराको २१ वर्ष र छोरीको १८ वर्ष उमेर पुगेपछि मात्र विहेवारी गर्न छुट दिएको छ । जे होस वालविवाह आजकाल हटेको छ । दाहाल समुदायको मानिसहरूले पनि यही रितिथितिलाइ मानिआएका छन् । यसरी जन्मदेखि विवाहसम्म गरिने विभिन्न परम्परा र संस्कृतिको पालना दाहाल समुदायका मानिसहरूमा पाइन्छ । यो परम्परा र संस्कार हिन्दू दर्शन र परम्पराका आधारमा निर्धारण गरिएको हुन्छ । आजकाल तिनमा केही कुरा परिवर्तन गरिएका छन् ।
१०. विद्यारम्भ
	बालबालिकालाई पढ्न सिकाउने कार्यलाई विद्यारम्भ भनिन्छ । दाहाल समुदायका सदस्यहरुको कुनै परिवारमा बाल बालिका ५÷६ वर्षमा विद्यालयमा पठाइ पठन पाठन शुरु गराइने कार्यलाई विद्यारभ्भ भनिन्छ । दाहाल समुदायमा पनि यो संस्कार रहेको छ । तथापि आजकाल शहर बजारको मिश्रित समाज र शहरी बसाइँका कारण ३÷४ वर्षको उमेरमा पनि विद्यारम्भ गर्ने गरिन्छ । परापूर्वकालमा गुरुकुलमा विद्यारम्भ गराउने चलन पनि दाहाल समुदायका केही सदस्यहरूमा पाइन्थो । आजकल विद्यालयका सबै ठाउँमा व्यवस्था भएकाले विद्यालयबाटै विद्यारम्भ गर्ने परिपाटी दाहाल समुदायमा छ ।
११. चूडाकर्म
	चूडाकर्म भनेर छोराको पहिलो पल्ट कपाल खौरिने कर्मलाई भनिन्छ । यो चूडाकर्म पनि हाम्रा प्रमुख संस्कारमध्येको एक हो । यो चूडाकर्म संस्कारलाई शास्त्रमा चूडाकरण पनि भन्दछन् । लोकमा यसलाई छेवर गर्ने वा क्षौर गर्ने अर्थात पहिलो पटक छुरा लाएर कपाल काट्ले काम भन्दछन् । यसमा विधिपूर्वक चूडा वा टूप्पी राखिने हुनाले पनि यसलाई चूडाकरण भनिएको हो ( भट्टराई, २०५६ः४) ।
१२. उपनयन (व्रतबन्ध)
	व्रतबन्ध (उपनयन) व्रत भनेको नियमविशेष हो र बन्ध भनेको त्यसमा बाँधिनु हो । बालकहरूले मुख्य पालन गर्नुपर्ने व्रतलाई लिइन्छ । व्रतबन्धलाई आधुनिक दृष्टिले हेर्ने हो भने उपनयनबाट गरूकुलमा वा शिक्षणसंस्थामा प्रवेश, वेदारम्भ वा खास व्रतबन्धबाट अध्ययनकाल वा गरूकुलको विद्यार्थीको अवस्था र समावर्तनबाट स्नातक अवस्था वा दीक्षान्त समारोहको संकेत मिल्दछ (भट्टराई, २०५६ः७४) ।
१३. वेदारम्भ
	वेदारम्भ भनेर तागाधारीका कुमारहरूको विधिवत् उपनयन गरेर तिनलाई द्विजत्व प्राप्त गराएपछि तिनीहरूको शास्त्रविहित नित्य नैमित्तिक आदि सकल श्रौतस्मार्त कर्महरूको अनुष्ठान सम्पादनार्थ वेदको पढाइ आरम्भ गरिने कर्मलाई भनिन्छ । वेदारम्भ खास गरेर ब्राम्हणहरूको एउटा प्रमुख र अत्यन्त आवश्यक कर्म हो (भट्टराई, २०५६ः१५५) ।
१४. समावर्तन
	समावर्तन भनेर उपनयनपछि कुमारले आफनो अध्ययन (वेदध्यन) पूरा गरी स्नातक बनेर गुरूकुलबाट घर फर्कन गरिने संस्कारलाई भनिन्छ (भट्टराई, २०५६ः१५५) ।
१५. विवाह पद्धति
	विवाह सामाजिक स्वीकृतिको प्रमाण हो (इम्बर र अन्य, २००२ ः ३४३) । विवाह भनेको सन्तान उत्पादन गर्ने सामाजिक स्वीकृति हो । सामाजिक स्वीकृति वेगर सन्तान उत्पादन भयो भने समाजले त्यस्तो सन्तानलाई वैधानिक मान्दैन । वैधानिकता प्राप्त गर्न विवाह वन्धनमा वाधिनु पर्दछ । दाहाल समुदायमा वैधानिक विवाह पद्धति अपनाइन्छ । उमेर अवस्था पुगेका छोरा छोरीलाई आफ्नो परम्परा र संस्कृतिको आधारमा विवाह वन्धनमा बाँध्ने कार्य हुँदै आएको छ । विवाह – वन्धन विगोत्रीका बीचमा हुन्छ । विगोत्री विगोत्रीबीचमा मात्र विहेवारी चल्दछ । सगोत्री र विगोत्री भन्नाले के कुरा वुझाउँदछ भने एउटै रक्त समूह (वंश) भित्रकालाई सगोत्री भनिन्छ त अर्को वंशकोलाई विगोत्री भनिन्छ । दाहाल थरका सगोत्रीभित्र कुँवर, राणा, रूपाखेती, लम्साल आदि पर्छन् । विगोत्रीमा अन्य अर्थात् दाहाल समुदायका व्यक्तिहरूको विवाह अधिकारी, बराल, भण्डारी, आचार्य, पराजुली, पौडेल आदिसँग गर्न हुन्छ । किनकि दाहालको विगोत्री भन्नाले तिनलाई वुझाउँदछ त त्यसैगरी तिनको विगोत्री दाहाल आदि भयो ।
१५. विवाह पद्धति
	विवाह सामाजिक स्वीकृतिको प्रमाण हो (इम्बर र अन्य, २००२ ः ३४३) । विवाह भनेको सन्तान उत्पादन गर्ने सामाजिक स्वीकृति हो । सामाजिक स्वीकृति वेगर सन्तान उत्पादन भयो भने समाजले त्यस्तो सन्तानलाई वैधानिक मान्दैन । वैधानिकता प्राप्त गर्न विवाह वन्धनमा वाधिनु पर्दछ । दाहाल समुदायमा वैधानिक विवाह पद्धति अपनाइन्छ । उमेर अवस्था पुगेका छोरा छोरीलाई आफ्नो परम्परा र संस्कृतिको आधारमा विवाह वन्धनमा बाँध्ने कार्य हुँदै आएको छ । विवाह – वन्धन विगोत्रीका बीचमा हुन्छ । विगोत्री विगोत्रीबीचमा मात्र विहेवारी चल्दछ । सगोत्री र विगोत्री भन्नाले के कुरा वुझाउँदछ भने एउटै रक्त समूह (वंश) भित्रकालाई सगोत्री भनिन्छ त अर्को वंशकोलाई विगोत्री भनिन्छ । दाहाल थरका सगोत्रीभित्र कुँवर, राणा, रूपाखेती, लम्साल आदि पर्छन् । विगोत्रीमा अन्य अर्थात् दाहाल समुदायका व्यक्तिहरूको विवाह अधिकारी, बराल, भण्डारी, आचार्य, पराजुली, पौडेल आदिसँग गर्न हुन्छ । किनकि दाहालको विगोत्री भन्नाले तिनलाई वुझाउँदछ त त्यसैगरी तिनको विगोत्री दाहाल आदि भयो ।
विवाहका किसिमहरू
एकल विवाह
	आजकाल एक जना पुरूषले एक जना महिलासंग गरिने विवाहलाई विश्वव्यापी रूपमा मान्यता दिइएको छ । यस्तो विवाहलाई उत्तम मानिन्छ । यस किसिमको विवाहलाई एकल विवाह भनिन्छ । दाहाल समुदायका मानिसहरूमा एकल विवाह प्रचलनमा रहेको छ ।
बहुविवाह
	एक जना पुरूषले धेरै महिलासंग गर्ने विवाहलाई बहुविवाह भनिन्छ । बहुविवाह दाहाल समुदायका केही परिवारमा मात्र देखिन्छ ।
अन्तर जातीय विवाह
	एक जाति समुदायको मानिसले अर्को जातिसमुदायका मानिससँग गरिने विवाहलाई अन्तर जातीय विवाह भनिन्छ । दाहाल समुदायका मानिसले क्षत्रीसँग वा अन्य जाति गुरूङ, मगरसँग गरिने विवाह अन्तर जातीय विवाह हो । दाहाल समुदायका व्यक्तिले क्षत्रीसँग विवाह गरेको देखिन्छ । तर अन्य जातिसँग विवाह गरेको भने अध्ययनले देखाउदैन ।
	मानव सभ्यताको प्राचीन युगलाई हेर्ने हो भने त एउटै रक्त समूह (वंश) भित्र पनि विहेवारी भएको देखिन्छ । मानव सभ्यताका क्रममा वर्तमान अवस्थामा एउटै रक्त समूह भित्र विहे गर्ने चलन सवै धर्म र संस्कृतिमा विस्तारै हट्दै गएको पाइन्छ । आजको वैज्ञानिक युगमा एकै रक्त समूह भित्रको विवाहपद्धति राम्रो मानिदैन । अझ आजकाल त क्रस म्यारिज अर्थात अन्तर जातीय विवाहलाई ज्यादै राम्रो मनिन्छ । तथापि हिन्दू धर्म र संस्कृतिले ब्राम्हणले ब्राम्हणसँग त क्षत्रीले, क्षत्रीसँग गुरूङ्गले गुरूङ्गसँग मात्र विहेवारी गरेको देखिन्छ । आजकाल अन्तर–जातीय विवाह पद्धति पनि केही परिवारमा हुने गरेका छन् । जस्तै ब्राम्हण र नेवार, गुरूङ्ग र क्षत्री आदिकाबीचमा विवाह सम्पन्न हुने गरेको पाइन्छ । अन्तरजातीय विवाहबाट उत्पादित सन्तान बुद्धिमान हुनसक्दछ भन्ने मान्यता विकास भएको पाइन्छ । जेहोस् दाहाल समुदायमा कानून, धर्म संस्कृति र परम्पराअनुसार नै विवाहपद्धति सञ्चालन भएको पाइन्छ । विवाहपश्चात् कुनै पनि व्यक्ति परिपक्व हुन्छ भन्ने मान्यता छ र व्यवहारले पनि देखाएको छ ।
	विवाह जीवनकै अति महत्वपूर्ण र प्रमुख संस्कार हो ( अधिकारी, २०६३ ः १५२ ) । विवाहले मानिसलाई परिपक्व बनाउँदछ । साथ–साथै विवाहकै माध्यमबाट सांसारिक प्रक्रियालाई निरन्तरता दिने काम हुन्छ । हिन्दू धर्म परम्पराले विवाहका आठ प्रकार बताएको छ । जसमा दैव विवाह, ब्रम्ह विवाह, आर्ष विवाह, प्रज्यापत्य विवाह, आसुर विवाह, गन्धर्व विवाह, राक्षस विवाह र पैशाच विवाह रहेका छन् । दैव विवाह विवाहमध्येको श्रेष्ठ मानिएको छ । ब्रम्ह विवाहको विवाह विधिलाई सर्वोत्तम मानिएको छ किन भने यो विवाह व्यवस्थाकै सबभन्दा परिष्कृत रूप हो ( अधिकारी, २०६३ ः १६०) । यी आठ प्रकारका विवाहमध्ये शुरूका चार प्रशंसनीय र पछिका चार निन्दनीय मानिएको छ ( अधिकारी, २०६३ (१६१ ) । दाहाल समुदायको विवाह वन्धनहरु धर्म र परम्परा अनुसार सञ्चालन भएको पाइन्छ । आजकाल केटाकेटी प्रेम विवाह गर्न मन पराउँदछन् । तथापि मागी विवाह वढी प्रचलनमा छ । विवाह पनि आ– आफ्नै आर्थिक हैसियत अनुसार दाजु, भाइ, इष्टमित्रलाई निमन्त्रणा गरी सम्पन्न गर्ने गरिन्छ । हिन्दू धर्म र संस्कृतिमा मागी विवाह प्रचलित छ । तथापि वीसौं शताव्दी अन्तसम्म केटी माग्ने चलन थियो । आजकाल यो चलन हट्दै गएको छ । र, केटीका अभिभावक वा आफन्तले केटा पक्षसँग प्रस्ताव गरी कुराकानी गर्ने प्रचलन बढेको देखिन्छ । यसमा केटाभन्दा केटीको जनसंख्या वढी हुनु एउटा कारण हुनसक्दछ त अन्य कारण दाइजो प्रथा कायमै रहेकोले पनि हो । अर्को छोरा र छोरीलाई दिइने संस्कार र संस्कृतिको कारणले पनि हुन सक्दछ । दाहाल समुदायका व्यक्तिहरूमा पनि यस्तो प्रचलन छ । दाहाल समुदायमा दान, दक्षिणा, कोसेलीपात, दाइजो प्रथा यद्यपी कायम छ । यो संस्कार वसिसकेको छ । समाजमा दाइजो प्रथाले गहिरो छाप पारेको छ । हुने र नहुनेका वीचमा ठूलो खाडल श्रृजना गराएको छ । घर–खेत बेचेर भए पनि दाइजो दिनुपर्ने प्रचलनले आर्थिक अवस्था कमजोर हुने व्यक्तिहरूलाई ज्यादै कठिन बनाएको यथार्थ छिप्न सकेको छैन ।
	अर्को तर्फ आजकाल जनवादी विवाह पद्धति पनि चलेको देखिन्छ । उक्त विवाह पद्धतिमा दाइजो प्रथा निषेध गरिएको छ । शुभकामना, वधाई र आशीर्वाद दिने र दाम्पत्यजीवन सुखमय रहोस् भन्ने कामना यो विवाहमा गरेको पाइन्छ । दाइजो प्रथाका कारण समाजमा छोरीले बुहारी हुँदा ज्यादै दुख कष्ट व्यहोर्नु परेको छ । समाजबाट वहिष्कृत, घर परिवारबाट हेला हुने, श्रीमान्ले दाइजो कम पाएको कारण श्रीमतीलाई हेला गर्ने, पारपाचुके गर्ने जस्ता सामाजिक बिकृतिबाट दाहाल समुदाय पनि अछूतो रहन सकेको छैन । छोरी बुहारीहरूलाई आर्थिक अर्थात् सम्पतिको अधिकार नहुनाले यस्तो पीडा भोग्नु परेको हो । सधै घरायासी काम, चुलो चौको, खेतीपाती धान्नु पर्ने अवस्था देखिन्छ । यो पीडा दाहाल समुदायमा मात्र नभै सम्पूर्ण नेपाली समाजको पीडा र व्यथाको रूपमा विद्यमान रहेको छ । यो रूढीवादी अन्धविश्वासी सामाजिक परिपाटीलाई शिक्षारूपी ज्योतिको माध्यमबाट हटाउँदै लानुपर्ने आवश्यकता रहेको छ ।
	यसरी विवाह सम्पन्न भै सकेपछि गाउँ विकास समितिको कार्यालय÷नगरपालिकाको वडा कार्यालयमा विवाह दर्ता गर्नु पर्ने कानुनी व्यवस्था छ । यसरी एकातिर कानुनी मान्यता छ र अर्कोतिर सामाजिक मान्यता आवश्यक छ । हाम्रो मुलुक पितृसत्तामा आधारित छ । महिलाहरु हरेक सवालमा पछाडि परेका छन् । छोरी मान्छेले छोरा सरह अधिकार पाउन सकेका छैनन् । दाहाल समुदाय पनि यो परम्परा र संस्कृतिबाट अछूतो रहन सकेको छैन । अन्तरिम संविधान, २०६३ ले आमाको नामबाट पनि नागरिकता लिन पाउने संवैधानिक व्यवस्था गरेको छ (नेपालको अन्तरिम संविधान, २०६३) । यसले गर्दा समता मुलक समाज तर्फ अग्रसरता देखिने संभावना बढेको छ । तथापि पितृसत्ताको अन्त भने भएको छैन । संविधानसभाको निर्वाचनले संविधानसभामा महिला सहभागितालाइ बढाएको छ । यसलाई एउटा शुभ संकेतको रूपमा लिन सकिन्छ ।
१६.	अन्त्येष्ठी (मृत्यु) संस्कार
	जीवनको अन्त्य मुत्युबाट हुन्छ । त्यसैले मृत्युकालमा र मृत्युपछि गरिने संस्कार सम्वन्धी कर्मलाई अन्त्यकर्म भनिन्छ । अन्त्यकर्म आगामी जीवन वा अन्तिम यात्राको तयारी मानिन्छ (अधिकारी, २०६३ः२२१) ।
	जन्मपश्चात् मृत्यु प्राकृतिक र स्वाभाविक कुरा हो । यो पृथ्वीमा जन्म लिएपछि मरण अकाट्य छ । बरू ढिलो वा चाँडो हुन सक्छ, सामान्य वा असामान्य जस्तो सुकै पनि हुन सक्दछ । जन्मपश्चात् मरणको संस्कार र संस्कृति हिन्दू धर्म र संस्कृतिमा के कस्तो छ त्यही अनुसार दाहाल समुदायमा पनि मृत्युपश्चात् दाहासंस्कार गरी काजकिरिया गरिन्छ ।
	विभिन्न धर्म र परम्पराअनुसार मानव मात्रले मृत्युवरण गरे पछि उसको अन्त्येष्ठी गर्ने चलन हुन्छ । दाहाल समुदायमा मृत्युवरणपश्चात् सर्व प्रथम एकोहोरो शंख बजाएर दाजुभाइ इष्टमित्रलाई सूचना दिइन्छ । त्यही सूचनाको आधारमा मृतकको घरमा दाजु, भाइ छरछिमेक र इष्टमित्र भेला भै दाहासंस्कारको तयारीमा जुटदछन् । संभव भएसम्म प्राण त्याग गर्ने बेलेमा तुलसीको मठ नजिकै सुताउने चलन छ । मृत शरीरलाई तुलसीको मठ नजिक गाईको गोबरले लिपेको भुईमा राखिन्छ । तत्पश्चात छोराहरूलाई दाह्री, कपाल खौरेर नयाँ वस्त्र धोती पहिरन गराइन्छ । मुर्दा ( जो मृत्यू भएको छ ) लाई हरियो बाँस माथि राखी फूल माला, अविरले अन्तिम श्रद्धाञ्जली दिइन्छ । सवै परिवारका सदस्य वा दाजुभाइ आफन्त, इष्टमित्रले सामूहिक रूपमा श्रद्धाञ्जली अर्पण गर्दछन् । सर्वप्रथम छोराहरूले काँधीकाठ गरी गंगाजीमा अन्तिम दाहसंस्कारका लागि उपस्थित जनसमुदाय लावालस्करका साथ मलामीका रूपमा जाने प्रचलन छ । त्यस समयमा अघि अघि शङ्खघोष गर्दै एकजना हिंड्दछन् । त्यसपछि कात्रो लिएर हिड्दछन् (सेतो कपडा लठ्ठीमा वाँधेर केही बन्धुहरुले समाउँछन् ) । त्यसरी कात्रो लिएर हिडने मानिस पछाडि नफर्की हिडनु पर्ने चलन र परम्परा रहेको छ । । त्यसपछि वुर्की छर्दै हिडदछन्, बुर्की धान भुटेर बनाएको लावामा खुद्रा पैसा (सिक्का) पनि मिलाएर बनाइन्छ । त्यसपछि मुर्दा (लास) वोकेर पाटले वेरेर लिएर हिड्ने गरिन्छ ।
	आधा बाटो पुगेपछि लाशलाई चौतारमा विसाई दीप प्रज्वलन गरी श्रद्धा व्यक्त गर्ने काम हुन्छ, त्यसठाउँमा पिण्ड दिने चलन छ । त्यसपछि मुर्दाको शिर खुट्टालाई पहिलेको भन्दा ठिक उल्टो पारेर वोकेर नदीसम्म पुरÞ्याउने चलन छ । जब नदी किनारमा पुगिन्छ तब श्रीखण्डको काठमा चिता वनाइ मृत लासलाई लम्पसार गरी राखिन्छ । सबै श्रीखण्डको काठ नपाइने हुँदा श्रीखण्डको टुक्रा मिसाई अरू काठलाई श्रीखण्ड संझिन्छ । छोराहरु तथा सम्पूर्ण मलामीहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दछन् । फूलमाला अविरद्धारा श्रद्धा व्यक्त गरि १ मिनेट मौनधारण गरी श्रद्धा–भक्ति प्रकट हुन्छ । अन्तमा छोराहरूले चितामा राखिएको लासलाई तीन पटक प्रदक्षिणा गरी अन्तिम दर्शन गर्दछन् । त्यसपछि एकमाना चामल छातीमा र मुखमा राखी जेठो छोराले दागवत्ती दिने काम गरेपछि लासलाइ अग्निद्वारा भष्म खरानी बनाइन्छ । भष्म शरीरलाई नदीमा प्रवाह गरिन्छ । अस्तु वा अवशेषलाई अन्य ठूला गगांजी वा तीर्थमा लगी सेलाउने पनि चलन छ । त्यसो नभए शेषलाई तिनै ठुला तीर्थ सम्झी गंगाजीमा बगाइन्छ । एउटा शिलाजी पहिले ल्याइएको घडामा राखी जलभरी घरमा फर्किने काम हुन्छ । त्यसपछि नुहाएर मात्र मलामीसँग किरियापुत्री छोराहरु आपसमा नछोइने गरी अलग अलग हिँडदछन् । बाटोमा चुत्राको काडो राखिन्छ त्यसैमाथि टेकेर हिँड्ने काम हुन्छ । यसको मतलव मृतात्मा अव फर्केर नआऊन् स्वर्गमा बास गरून् भनी सवै मलामीले काडोमा टेक्दछन् । यसरी बाटोमा काँडो लगाएर छेक्ने गरिन्छ । यसरी भौतिक शरीरको अन्त्येष्ठीपछि घरमा फर्कने कार्य हुन्छ । त्यसरी फर्कनु अघि श्रद्धाभक्तिसाथ श्रद्धाञ्जली दिने र श्राद्ध गर्ने कार्य सम्पन्न भएको हुन्छ । फर्केपछि बाटोमा थाकेका र भोका मलामीहरूलाइ फलफूल तथा चियाभुजा खुवाइने चलन छ ।
घरमा पुगेपछि छोराहरु कोराभित्र पस्दछन् । कोरा भन्नाले चित्रा, भकारीले वारेको १२ दिनसम्म किया पुत्री अलगै बस्न बनाइएको ठाउलाइ बुझाउँदछ । १३ औं दिनको दिन शुद्ध गर्ने, गाईको गउत ब्राम्हणले मन्त्रणा गरी दिए पछि शुद्ध भएको मानिन्छ । यसरी १३ दिनसम्म किरिया बस्ने वा किरिया गर्ने चलन छ । एउटा कोठामा यसरी वनाइएको कोरा अन्य मानिस र जीव जन्तुसंग नछोइयोस् भन्नाका लागि बनाइएको हुन्छ । यसरी कोराभित्र वस्न पराल ओछ्याउने र कम्वल वा च्यादर ओढ्ने, एक छाक अल्नु खाने (नुन बिनाको खाना) गरिएमा मृतात्मा स्वर्गमा पुग्दछ भन्ने भनाइ र मान्यता यद्यपि कायम छ । सत्य र तथ्य खोजी गर्न आवश्यक छ । त्यसैगरी श्रीमान्को निधनमा श्रीमती पनि १३ दिन सम्म कोरा भित्र वसी काजक्रिया गर्दछन् त श्रीमतीको निधनमा श्रीमानले नुन मात्र छोडदछन्, किरिया छोराहरूले गर्दछन् । यसरी अन्तेष्टी कार्यका लागि अर्थात् काजकिरिया छोरा, बुहारी, श्रीमती, छोरीले गर्दछन् वा किरिया बस्दछन् । पहिलो दिन केही नखाइ भोकै बस्ने परम्परा छ । भोलिपल्ट नजिकको धारा, कुवामा गई स्नान गरी ज्वाइ, भानिजले गेडा (जौ, तिल र कुश) हालेपछि त्यही जलले तीनपटक स्नान गरी नयाँ वस्त्रालंकार गरी गगांजीबाट अघिल्लो दिन ल्याइएको शिलाजीलाई धारा कुवाको नजिक एक ठाउँमा राखी जल चढाइ जल लिएर डिकुरो (माटोबाट बनाएको साने ढिस्को) वनाउने काम गरिन्छ । गेडा हाल्ने भन्नाले भानिजले तिल, कुश, जौ किरियापुत्रीले नुहाउन प्रयोग गरिने जलको घडामा राख्ने र त्यही जलले नुवाई हरेक दिन शुद्ध हुने कुरालाई बुझाउँदछ ।
	गाईको गोवरले लिपपोत गरी निर्माण गरिएको ठाउँमा एउटा डिकुरो निमार्ण गरिन्छ । त्यही डिकुरामा हरेक दिन पूजा, पाठ र श्राद्ध गर्ने काम गरिन्छ । श्राद्ध गर्दा गाईको दूधमा खीर पकाई पिण्डको रूपमा अर्पण गरिन्छ । हरेक दिन यसरी मृतात्माको चिरशान्तिको कामना साथ श्रद्धाभक्ति अर्पण गर्ने क्रम चल्दछ । त्यसपछि जेठो छोराले श्राद्ध गर्ने अन्य छोराहरूले दाजुलाई सहयोग गर्ने काम गर्दछन् । त्यसपछि जेठा छोराको आज्ञा अनुसार अन्य छोराहरूले खाना बनाई केराको पातमा राखी सवै मिलेर एक छाक खान्छन । यसरी एकछाक मात्र खाँदा शक्ति कम हुन्छ भनी परापूर्वकालदेखि घिउमा खाना पकाएर खाने चलन छ । साथै अदुवाका टुक्राको सितनमा खाना खाने चलन छ ।
	त्यसैगरी हरेक दिन गेडा हाल्ने काम हुन्छ । साथै अघिल्लो दिन राखिएको शिलाजीमा हरेक दिन जति दिन भयो त्यति नै अञ्जुली जल चढाउने काम हुन्छ । श्राद्ध हरेक दिन गर्ने गरिन्छ । हरेक दिन डिकुरो गाईको गोवरले लिपी श्राद्ध गर्ने गर्नुपर्दछ भन्ने चलन कायम छ । भौतिक शरीरको अभावमा पनि धार्मिक विश्वासका आधारमा यसरी संस्कार र संस्कृतिको संरक्षण गर्ने काम दाहाल बन्धुहरूले गर्दै आएको देखिन्छ । हरेक दिन सबै कार्य सकी घर फर्कने बेलामा प्वाल भएको एउटा माँटाको भाडो नजिकको कुनै रूखमा झुण्डाई त्यहाँ भरी पानी राखेर छोड्ने चलन पनि छ । यी हरेक कार्यका एउटा एउटा अर्थ छ र लगाइन्छ पनि ।
	छोरीहरूले वावुआमाको किरिया ५ दिनमात्र गर्ने चलन छ । तर आजकाल यदि छोरा छैनन् भने कपाल खौरेर १३ दिन छोरीले क्रिया गरेका एका दुई घटनाहरु भने पाउन सकिन्छ । छोरीले पाँच दिन क्रिया वसेपछि त्यसपछि छोइ छिटो बार्नु पर्दैन, नुन पनि खाए हुन्छ, छुटटै बस्नु पनि पर्दैन ।
	यसैगरी मानिस निधन भएको पाचौ दिनदेखि खाना खाइसकेर घरमा फर्किसकेपछि गरूड पुराण सुन्ने र सुनाउने काम हुन्छ । गरूड पुराण १६ अध्यायमा विभाजन गरिएको एउटा हिन्दू धर्मको अठार पुराणमध्येको एक हो । यसमा कुनै मानिसको निधन भएपछि के कसरी श्रद्धाञ्जली अर्पण गर्ने काज किरिया नगरेमा केहुन्छ ? किन काजकिरिया गरिन्छ । यदि काजकिरिया गरिएन भने के हुन्छ । मृतात्मालाई कसरी स्वर्गमावास गराउने आदि इत्यादिका वारेमा उल्लेख गरेको पाइन्छ । अर्को तर्फ किरिया पुत्रीलाई यस्ता पुराणका कथा सुन्दा समय वितेको कुरा थाहा हुँदैन । साथै उक्त दुखको घडीमा मन बहलाउने अर्थात् ठूलो पिरलाइ मोड्ने काम यसले गरिरहेको हुन्छ । यसरी पुराण सुन्ने र सुनाउने कामले मृतात्माले स्वर्गमा बास पाउछ भन्ने लगायतका कथाहरु सुनाउने काम पण्डितले गर्दछन् । साथै शोक व्यक्त गर्न आएका व्यक्तिलाई यो कथा सुनाउनाले परधाम भएपछि यो जीवनमा गरेका राम्रा नराम्रा कार्यको फल पाइन्छ भन्ने अध्यात्मवादी विचार रहेको छ । साथै जीवनमा जे जस्तो काम गरे पनि यो पुराण लगाउनाले स्वर्गबास हुन्छ भन्ने मान्यताले हिन्दू धर्मावलम्विको मन मस्तिष्कमा जरा गाडेको छ । यदि काज किरिया नगर्ने हो भने स्वर्गवास हुँदैन भन्ने भनाइकै कारण हरेक मानिस मरिसकेपछि क्रिया गर्ने चलन टुट्न सकेको छैन । अर्को तर्फ राजा महाराजाहरूले आफ्ना बाबुआमाको काजकिरिया गर्दैनन् । तिनका काजकिरियासमेत दुनियाँका छोराले गरेका छन् । त्यसै गरि नेपाली काग्रेसका महान् नेता श्री विश्वश्वरप्रसाद कोइरालाले उनका बाबु, आमाको किरिया गरेनन् । त्यसैगरी नेकपा एमालेका तत्कालिन महासचिव श्री माधवकुमार नेपालले र नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराइलेसमेत आफ्नी आमाको किरिया गरेनन् । तर हिन्दू धर्मालम्वी नेपाली समाजले यस संस्कृतिलाई निरन्तरता दिइरहेको छ ।
भेटी
	कुनै व्यक्तिको निधन भएपछि सो घरपरिवारमा भेटन जादाँ केही चीज विशेषत खानेकुरा (घिउ, फलफुल, चिनी, मिश्रि) लिएर जाने चलन हुन्छ । टाढा टाढाबाट भने भेटीको रुपमा रुपयाँ, पैसा पठाउने चलन पनि छ । यसरी भेटन जाँदा लाने चीजलाई भेटी भनिन्छ । निधन भएको पाचौं दिनदेखि दाजु, भाइ, इष्टमित्र, शुभचिन्तकहरूले दुखको वेलामा शोक व्यक्त गर्न र समवेदना प्रकट गर्न आउँदछन । यसरी भेट्न आउँदा फलफूल, रूपैयापैसा, घिउ, चामल आदि लिएर आउँदछन् । यसरी भेट्न नआउने व्यक्तिको घरमा जाँदा वर्ष दिनसम्म पानी खान हुदैन भन्ने एउटा मान्यता छ त अर्को रित्तो हात भेट्न हुदैन भन्ने पनि छ । यसरी राखिएको भेटी १३ औं दिनको दिन फर्काउनु पर्दछ भन्ने मान्यतामा परिवर्तन गरी आजकाल दाहाल समुदायका व्यक्तिहरूले फर्काउन छोडेको देखिन्छ । यसरी दुखको वेलामा गरेको भेट फर्काउन उचित हुँदैन भन्ने मान्यताले पश्रय पाउँदै गएको देखिन्छ । नेपालीमा एउटा उखान छ मर्दाको मलामी जिउँदाको जन्ती । अर्थात् दुखको वेला शोक व्यक्त गर्नु इष्ट मित्र दाजु भाइको कर्तव्य हो ।
	किरिया वसेको १० औँ दिनको दिन क्रियापुत्रीले टाउकाले हानेर डिकुरो फोर्नु पर्ने चलन छ । त्यसरी डिकुरो फोरेपछि त्यही ठाउँमा मास, चामल, नुन छर्ने काम गरिन्छ । र अन्य ठाउँमा अर्को जग्गिया वनाइ पूजा, पाठ, श्राद्ध गरिन्छ । साथै गाईका बाच्छा, बच्छी डामेर साँढे साँढी छोडने चलन छ, छोडनु पर्दछ भन्ने प्रचलन कायम छ । आजकाल एघारौ दिनको दिन गाईको बाच्छा बाच्छीको सट्टामा जौको प्रतिमा बनाइ छोडे पनि हुन्छ । यसरी छोडेपछि मृतात्माले स्वर्गावास गर्दछन् भन्ने कुरा गरूढ पुराणमा उल्लेख गरेको पाइन्छ । त्यसैगरि तामाको प्रतिमा बनाई साँढे साँढीको रूपमा छोड्ने चलन पनि चलाउन लागेको देखिन्छ । यसरी साँढे साँढीलाई हलो जुवा वनाइ आगामी दिनमा हामी र हाम्रा सन्तानले तिम्रो प्रयोग गर्ने छैनन् भनि छाडा रूपमा छोडिन्छ । यसरी छोडिएका साँढेबाट जोत्न हुदैन भन्ने भनाइ भएकै कारण छाडा छोड्ने चलन चलेको हुनु पर्दछ । यसरी छोडेका वहर अन्जानमा पनि जोतन नपरोस् भनी आजकाल तामाका प्रतिमा वनाएर छोड्ने गरेको पाइन्छ ।
	नधन भएको १२ औं दिनको दिन घरैमा श्राद्ध आदि गरी खाना पकाएर तरकारीसहित एक छाक नुन खान, वेलुका गुन्द्रीमा सुत्न हुने प्रचलन छ । १३ औं दिनको दिन पूजा–पाठ, वेद, चण्डी पाठ गर्नुको अलवा श्राद्धगरी अन्य पितृसंग मिसाउने काम हुन्छ । त्यस दिन गाईको दूधमा पकाइएको पिण्ड अन्य सवै पितृसंग मिसाइन्छ । र सवै कुलहरूलाई एकैठाउँमा राखेर पूजा गरिन्छ । स्वर्गमा वास होस् नर्कमा वास गर्न नपरोस् भन्ने मान्यताको आधारमा विभिन्न किसिमका दानहरु गर्ने काम त्यही दिन हुन्छ । दानहरूमा गाई दान, मक्षदान, वैतर्णी दान, सजिया दान गर्ने चलन छ । त्यसैगरी पञ्च दान, दश दान, सेजिया दानमा विस्तारा, लगाउँने कपडा, छाता, जुता, भाँडाकुँडा आदि इत्यादि दान गरिन्छ । सेजिया दान गेडा हाल्ने भानिज वा ज्वाईंलाइ गरिन्छ । त्यसैगरी अन्य दान पण्डितहरूलाई गर्ने गरिन्छ । यसरी दान गरिएमा स्वर्गवासी आत्माले पाउँछ भन्ने भनाई रहेको देखिन्छ । त्यही दिन गहुत मन्त्रणा गरी क्रियापुत्रीलाइ खान दिएपछि र त्यो खाए पछि शुद्ध हुन्छ भन्ने मान्यता छ । त्यसैगरी सवै दाजुभाइ इष्ट मित्रलाई गहुत खुवाइन्छ ।
	छोराहरूले १३ औं दिनको दिन कोरा बाहिर निस्के पनि १ वर्षसम्म बाहिर नखाने, माछा मासु नखाने, सेतो कपडाको पहिरन गर्ने हरेक मासिकामा (तिथिमा श्राद्ध गर्ने, वर्षदिन पुगेपछि श्राद्ध गरेर सकेपछि मात्र शुद्ध हुन्छ । त्यसपछि बल्ल अन्य चाड, पर्व मनाउनका साथै अन्य कार्य गर्न पाइन्छ र शुद्ध मानिन्छ ।
श्राद्ध (पिण्ड) त्रिपिण्ड
	श्राद्ध वा पिण्डदान गर्ने भन्नाले कुनै मानिस मृत्यु भएको तिथिको आधारमा हरेक वर्ष श्राद्ध गरिन्छ । साथै सोह श्राद्धमा पनि मृत्यु भएको दिनको तिथिका दिन श्राद्ध वा पिण्डदान गरिन्छ । हिन्दूधर्म र संस्कृति अनुसार दाहाल समुदायमा पनि यो संस्कार प्रचलनमा रहेको छ । यसरी पिण्डदान गर्दा तीन पुस्ता सम्झने र तर्पण दिने गरिन्छ । श्राद्ध पनि वर्षमा २ पटक (एकोतिष्टि र महालय) गरिन्छ । यसरी तर्पण दिदा आफ्ना बाबु, आमा, हजुरबा, हजुरआमा, बूढा हजुरबा, बूढी हजुरआमा, मावली तर्फ पनि मामा, माइजू, मावली हजुरवा, मावली हजुरआमा, मावली बूढा हजुरबा र मावली बूढी हजुरआमा र ससुराली तर्फ ससुरा, सासू, ससुरा हजुरबा, ससुरा हजुरआमा, बूढा ससुरा बा र बूढी सासू आमालाई तर्पण दिने गरिन्छ । यसलाई त्रिपिण्ड भन्ने गरिन्छ ।
	वंशावलीसम्वन्धी अध्ययनमा जन्म, विवाह र मृत्युजस्ता महत्वपूर्ण पक्षको अध्ययन गरिएको हुन्छ । यी कुराहरूले मानवशास्त्रका सामाजिक, साँस्कृतिक (हिक्स, १९९६ः६) पक्ष स्पष्ट बनाउँदछ । हरेक जाति समुदायको अध्ययनमा यी तीन कुरा आवश्यक छन् । तथापि धर्म, संस्कृति र परम्परा अनुसार फरक फरक भने पाउन सकिन्छ । मानव उत्पत्ति र विकासमा जन्म, विवाह र मृत्युका वारेमा के कस्तो स्थिति छ अध्ययन अनुसन्धानबाट प्रष्ट हुन्छ । नेपाल २०६२÷२०६३ सालका लोकतान्त्रिक जनआन्दोलन पश्चात् धर्मनिरपेक्ष राज्य घोषणा भएको छ । पुनस्थापित संसदले नेपाललाई धर्मनिरपेक्ष राज्य भनेर २०६३ साल जेठ ४ गते घोषणा गरी सकेको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा ४ मा नेपाल राज्य धर्मनिरपेक्ष हुने(नेपालको अन्तरिम संविधान, २०६३ ः १) भन्ने व्यवस्था भै सकेको छ । अव नेपालमा धार्मिक स्वतन्त्रताको बाटो खुलेको छ । यसअघि नेपाल अधिराज्यको संविधान, २०४७ ले नेपाल हिन्दू अधिराज्य भनि घोषणा गरीएको थियो । नेपालमा एकात्मक शासन व्यवस्था, हिन्दू अधिराज्य भएका कारण नेपाली जनताले आफ्नो व्यक्तिगत स्वतन्त्रता गुमेको महसूस गरेका थिए ।
	यसरी नेपाल राज्य धर्मनिरपेक्ष घोषणा गरिए पनि आमुल परिवर्तन भै आफ्नो धर्म र संस्कृतिबाट अलग्गिने, अन्य कुनै धर्मले नयाँ स्थान ओगट्ने संभावना भने देखिदैन । धर्मनिरपेक्ष राज्य घोषणा भएपछि केही हिन्दू धर्मालम्वी संघ ( संस्थाले धर्मको नाममा शोषण गरी आफ्नो स्वार्थ सिद्ध हुदैन कि भनेर आन्दोलन गरे पनि धर्मनिरपेक्ष राज्य भनेको कुनै पनि धर्मले कुनै धर्मलाई दखल गर्ने नभएकोले अत्तिनु पर्ने कुनै जरूरी छैन । यहाँ अध्ययनको विषय दाहाल समुदायको छ । दाहाल समुदायका मानिसहरु अधिकांश हिन्दू धर्मावलम्वी छन् । यो धर्मनिरपेक्ष राज्यको घोषणाले यस समुदायलाई कुनै असर गर्दैन बरू कुनै व्यक्तिले कुनै धर्म मान्न नचाहेमा स्वतन्त्रपूर्वक बस्न पाउँछ ।
	दाहाल समुदायका मानिसहरु अधिकांश हिन्दू धर्मालम्वी भएका हुँदा तिनको धर्म संस्कृति र परम्परा एउटै रहेको छ । तथापि बसाँई सरेर अन्य ठाउँमा जाँदा त्यहाको समुदायमा बाहुल्यता रहेको जाति समुदायको प्रभाव पर्नु स्वभाविक हो । समग्रमा हिन्दू धर्म, परम्परा र संस्कृतिका आधारमा जन्म, विवाह र मृत्युका संस्कारहरु भएको पाइन्छ ।
	वंशावली सम्वन्धी अध्ययनमा विभिन्न विषयहरूको बारेमा अध्ययन गरिन्छ, तापनि विशेषगरी जन्म, विवाह र मृत्यु सम्वन्धी विषयको वारेमा विस्तृत रूपमा अध्ययन गर्न जरूरी देखिन्छ । किनभने यी तत्वहरूको अध्ययनले मात्र वंशावलीसम्वन्धी अध्ययनलाई पूर्णता दिन सक्छ । वंशावली भन्ने बित्तिकै जन्म कहिले कहां भयो र विवाह कहिले कहाँ कोसँग भयो र सन्तान उत्पादन के कति कहिले कहिले भयो भन्ने सन्दर्भमा खुल्ने हुँदा यिनीहरूकावारेमा चर्चा गर्नु आवश्यक छ । यसको साथसाथै मृत्यु संस्कार के कस्तो छ भन्ने कुरा अध्ययनले विश्लेषण गर्न सजिलो हुन्छ । यहां अध्ययनको केन्द्रबिन्दु दाहाल समुदायका बारेमा रहेकोले त्यस सम्वन्धमा अध्ययनलाई केन्द्रित गर्नु आवश्यक छ ।
२. 	दाहाल वंशको जातीय पहिचान
	नेपालमा बसोबास गरेका दाहाल समुदायहरु आर्य रक्त समूहमा पर्दछन् । आर्यहरु गहुगोरो वर्ण, चुच्चो नाक, नरम कालो कपाल, लाम्चा एवं गडेका आँखा, उचो कद र प्रशस्त दाफी जुँगा, भएका हुन्छन् (शर्मा, २०४९ः३८) ।
३. 	दाहाल समुदायका चाडपर्व
	दाहाल समुदायहरूले निम्नानुसारका चाड पर्वहरु मनाउने गरेको पाइन्छ । जसलाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।
वडा दशैं
	कुनै पनि देशका आ–आफ्नै परम्परा र संस्कृति हुन्छन् । यस्ता चाड पर्व त्यस देशको इतिहास, संस्कृति र परम्पराको प्रतिविम्ब लिएर आएका हुन्छन् । दशैं राष्ट्रिय चाडको रूपमा आउँछ । दशैं शरद ऋतु आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व हो । यो पर्व हरेक वर्ष शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म रहन्छ, तैपनि दशैं भनेर आश्विन शुक्ल दशमीलाई लिइन्छ । आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यस दिन घरघरमा र कोत घरको पूजाकोठामा कलश थापेर नवदुर्गाको पूजा गरिन्छ । त्यसै ठाउँमा वालुवाको वेदीमा जौ, मकै, गहूँ आदि छरेर जल छर्काइ जमरा राखिन्छ । कोठा भित्र छोपेर राखिने हुँदा जमरा पहेला हुन्छन् । पहिलो दिन प्रतिपदाका दिन प्रतिमा स्थापना गरिएका नव दुर्गालाई नवरात्रिभर पूजाआजा गर्ने र नौ दिनसम्म नै दुर्गा सप्तशतीको पाठ गर्ने चलन छ । यी नौ दिनको अवधिलाई नवरथा वा नवराथ भन्ने गरिन्छ ।
	आश्विन शुक्ल सप्तमीका दिनदेखि फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व (पोख्रेल, २०४०.६४०) भनिन्छ । दशैको विशेष चाड चाही सप्तमीदेखि शुरू हुन्छ । सप्तमीको दिनलाई फूलपाती भनिन्छ । यस दिन गोर्खाबाट काठमाडौंको हुनुमानढोकामा फुलपाती भित्राइने परम्परा रहेको छ । कास्कीकोटबाट विन्धबासिनीमा फूलपाती भित्राइने चलन छ । यसै दिन काठमाडौंको टुडिँखेलमा तोप पडकाई बढाई गरिन्छ । फूलपातीको दिन नेपाली सेनाले विविध कार्यक्रम टुडीखेलमा गर्दछ । त्यसको नजर नेपाल राष्ट्रका राष्ट्रपति, प्रधानमन्त्री गन्यमान्य एवं सर्वसाधरणले गर्दछन् । अष्टमीलाई महाअष्टमी र नवमीलाई महानवमी भनिन्छ । अष्टमी र महानवमीका दिन देवीका मन्दिरहरूमा वलि दिने, मार हान्ने, मौलो पूजा गर्ने चलन छ । अष्टमीको राती कालरात्रि गर्ने चलन पनि छ । दशमीलाई विजय दशमी पनि भनिन्छ । पौराणिक कथा अनुसार त्रेतायुगमा रामले लङ्का रावणलाई दशमी तीथिको दिन पराजित गरी सो समयदेखि विजया दशमी मनाउँदै आइएको भन्ने भनाइ रहेको छ । विजया दशमीको दिन मान्यजनको हातबाट टीका, जमरा लगाइ आशीर्वाद लिने र दान दक्षिणा गर्ने चलन छ । दाहाल समुदायले विजयादशमी हर्ष उल्लासको साथ मनाउँछन् । अन्य जाति समूहले दशमीदेखि पूर्णीमासम्म टीका जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने गर्दछन् । कास्कीमा बसोबास गर्ने दाहाल समूदायमा भने विजया दशमीको दिनमात्र टिका जमरा लगाउने चलन छ । उक्त दिन इष्टमित्र मावली, ससुराली आदिको हातबाट मात्र टीका जमरा लगाई उमङ्गका साथ दशैं मनाउने परम्परा यद्यपी कायम दाजुभाइ छ । दशै नेपालीहरूको ठूलो चाड हो ।
तिहार
	तिहार वा भाइटीका कात्तिक कृष्ण त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल द्वितीयाका दिनसम्म पाँच दिन मनाइन्छ । यो चाड दशैं पछिको ठूलो चाड हो । तिहारको पौराणिक सम्बन्ध यम र उनकी वहिनी यमुनाको कथासँग जोडिएको छ । तिहारका पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तोस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार, पाचौं दिन भाइ तिहार वा भाइ टीका लगाई मनाइन्छ । भाइ टिकाको दिन दिदी बहिनीले अष्टचिरञ्जीवी यम–यमुनाको पूजा गरी आफ्ना दाजु, भाइलाई लगाइ दिने मङ्गलको टीका (पोख्रेल, २०४०.१००४) लगाइ दिन्छन् भने दाजु भाइले दिदी बहिनीलाई गच्छे अनुसार दान दक्षिणा दिन्छन् । यसरी पाँचौं दिनसम्म घरघरमा दियो वाली दैलोमा तेलको धारा लगाइन्छ । घर–आँगन सरसफाइ गरी लिपपोत गरिन्छ । यसरी लक्ष्मीको पूजा गर्नाले लक्ष्मीको बास हुन्छ भन्ने चलन रहेको छ ।
चैते दशैँ
	चैते दशैं चैत्र शुक्ल अष्टमी वा सो दिन मनाइने चाड हो । यो चाड चैत महिनामा पर्ने हुनाले चैते दशैं भनिएको हो (पोख्रेल, २०४०.६४०) । दाहाल समुदायका मानिसहरूले वडा दशैंपछि चैते दशैं पनि मनाउने गरेको पाइन्छ ।
तीज
	नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिव पार्वतीको उपासना र पूजा गर्ने, भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीज हो ( पोख्रेल, २०४०.६०२) यो चाड दाहाल समूदायको लागि लोक प्रिय चाडको रूपमा मनाउने गरिन्छ । तीजमा दाजुभाइले आफ्ना दिदि बहिनालाई लिन जाने, बाबुआमाले छोरीलाई लिन जाने र रमाइलोसँग तीज पर्व खुशी र हर्षउल्लास पूर्ण वातावरणमा मनाउने गरेको पाइन्छ ।
४ 	दाहाल समुदायका लोक परम्परा÷रीतिरिवाज
	दाहाल समुदायमा रहेका लोक परम्परा र रीतिरिवाज निम्नानुसार रहेका छन्
कुलायन पूजा
	दाहाल वंशको कुलायन पूजा हरेक ५÷५ वर्षमा गर्ने चलन रहेको छ । कुलायनको पूजा जेष्ठ महिनाको पूर्णिमाको दिन कुलायन पूजा गर्ने चलन छ । कुलायनको पूजा गर्दा हरेक घरबाट एक एक बोका बली चढाउने गरिन्छ । कुलायन पूजाको दियो कलश मूल घरबाट निकालेपछि अन्य सबै घरबाट निस्कने परम्परा रहेको छ । कुलायन पूजा गर्ने वर्ष कुनै परिवारले विवाह गरेको वा घर बनाएको रहेछ भने थप एक गरी एउटै घरबाट दुईवटा बलि दिने चलन पनि छ । त्यसैगरी छोरा जन्मेका रहेछ भने पनि थप बोका कुलायनलाई वली दिने चलन यद्यपी कायम छ । अहिले कास्की जिल्लाका विभिन्न गाउँमा कुलायनको मन्दिर बनाइएको छ । मूल थलोबाट कुलायनको ढुङ्गा (प्रतिमा) लिएर आएर कुलायन स्थापना गरी मन्दिर बनाई पुजा गर्ने गरेका छन् । हाल भीरमुनी, फल्लापानी, कास्की खडगाउँ, लेवाडे, सुइखेत, हेम्जा, हंसपर, भरतपोखरी आदि ठाउँमा कुलायन मन्दिर स्थापना गरी कुलायन पूजा गर्ने गरेको देखिन्छ । सबै भीरमुनी गई पूजा गर्न विविध कठिनाइ भएकोले सजिलोका लागि यस्तो प्रचलन भएको छ । अहिले कास्की जिल्लामा बसोबास गर्ने दाहाल समुदायको सबैलाई पायक पर्ने ठाउँमा कुलायन मन्दिर निर्माण गरी एकै ठाउँमा पूजा गर्ने सम्बन्धमा दाहाल सेवा समाज कास्की नेपालको बहसको विषय बनेको छ । दाहालहरूको मूल थलो दैलेखको दह गाउँमा कुलदेवता अग्निवेतालको मन्दीर रहेको छ (दाहाल वंशावली २०६५) । दैलेखका दाहालहरु सो कुलदेवताको मन्दीरमा पूजा गर्दछन् ।
सप्ताह
	सात दिनमा बाचेर सम्पन्न गरिने भागवत, पुराण वा धार्मिक अनुष्ठानको पाठलाई सप्ताह भनिन्छ । सप्ताह एक हप्तासम्म चल्ने धार्मिक कार्यक्रम हो । भागवत अठार महापुराणमध्ये विशेषत कृष्णको कथाहरूको वर्णन गरिएको एक प्रसिद्ध महापुराण हो (पोख्रेल, २०४०.१०४) हरेक यस्ता कार्य गर्दा सोही दिन रूद्री स्थापना गर्नु पर्छ । जस्तैः व्रतबन्ध, घरपैचो, एकाह, सतरुद्री, हरिवंश आदि कार्यमा ।
हरिवंश
	कृष्णको कुल, हरिको वंश, कृष्णका कुलको वृतान्त भएको ग्रन्थ हो (चापागाई २०६२ ः १२८०) हरिवंश अठार पुराण मध्यै एक पुराण हो । यो पुराण जसको सन्तान ढिलो हुन्छन् । वा सन्तान विस्तार कमी देखिएमा हरिवंश पुराण लगाउने क्ष् । परंम्परा दाहाल समुदायमा पनि छ ।
लघुरुद्री
	तीन दिनसम्म भागवत पाठ गरी सम्पन्न गर्ने कार्यलाई लघुरूद्री भनिन्छ । यो कार्यमा पनि रूद्री स्थापना गर्नुपर्छ । रेक यस्ता महत्वपूर्ण कार्यमा गणेश स्थापना गरिन्छ । गणेशले सम्पूर्ण जग्यिया हेरी रेखदेख र संरक्षण गर्दछन् । त्यसैले गणेश माउने भानिजलाई गाई दान गरिन्छ । भानिज नभएमा ज्वाइँलाई गाई दान दिइन्छ ( दाहाल, गंगीमायाः ७७ ÷ दाहाल, लिलानाथ) ।
एकाह
	एकै दिनमा पूरा गरिने सात ब्राम्हणद्वारा गरिने श्रीमद्भागवत पुराणको पाठलाई एकाह भनिन्छ (पोख्रेल, २०४०.१७०) । एकाहमा पनि रूद्री स्थापना गरिन्छ । रूद्रीको स्थापनाविना कुनै पनि कार्य गरिदैन । त्यसैले रूद्रीको ज्यादै महŒवपूर्ण स्थान रहेको छ ।
रुद्री
	रूद्रीको पूजा तथा उपासनाका निम्ति शिवलिङ्गमा अविच्छिन्न जलधारा दिँदै गरिने वैदिक पाठलाई रुद्री भनिन्छ । यो कार्य हरेक शूभकार्य गर्दा गर्नुपर्छ । दाहाल समुदायमा पनि रूद्री नवाची अन्य कार्य गर्न मिल्दैन भन्ने भनाइ रहेको छ । त्यसैले रुद्री सानोदेखि ठूलो जुनसुकै धार्मिक कार्य गर्दा गर्नु पर्ने भएकाले यसको ज्यादै महत्व रहेको छ ।
घरपैचो
	नयाँ घर निर्माण गरिसकेपछि सर्वप्रथम रूद्री जुराएर गरिने कार्यलाई घरपैचो भनिन्छ । घरपैचो गरिसकेपछि मात्र अन्य शुभकार्य गरिन्छ । यो कार्य नगरी अन्य ब्रतबन्ध, विवाह, सप्ताह आदि गर्न हुँदैन भन्ने भनाइ रहेको छ । घरपैचोको थालनी अग्नि स्थापना गरी गरिन्छ । यो कार्य गर्दा पनि रूद्री स्थापना गरिन्छ ।
गौडु पूजा
	गौडु पूजा भन्नाले गोठमा, गोठ (गाईवस्तु) को पूजा भन्ने बुझिन्छ । यसरी गौडु पूजा गर्नाले गोठ भरियोस् भन्ने मान्याता राखिन्छ । मङसिर र जेष्ठ पूर्णिमामा गौडुलाई दूधको धार दिई, खिरबराह बनाई नैवेद्यको रूपमा लिने चलन छ । यो दिन कुलायनको मन्दिरमा गई सम्पूर्ण इष्टदेवतालाई सम्झी कुण्ड – कुण्ड बनाई दूधको धारसमेत चढाइन्छ । जसले गर्दा सम्पूर्ण देवताहरु खुशी हुन्छन् भन्ने मान्यता यद्यपि दाहाल समुदायमा रहेको छ ।
इष्टदेवता
	आरध्य देवता, कुलदेवता, दीक्षमन्त्रका मुख्य देवता, शुभकारी देउता, पतिदेव, स्वामी इष्टदेवता – इष्टदेव (नेपाल, २०५७ः१५३) । कुल परम्पराबाट पुजिदै आएका आरध्य देवता वा कुल परम्पराबाट पूजीई आएका देवता, कुलदेवतालाई नै इष्टदेवता भनिन्छ । अर्थात् आफ्ना जिजु, बाजेले मान्दै पूजदै आएका मुख्य देवता शिव हुन् र सबै देवता इष्ट देवता हुन् । दाहाल परिवारमा हरेक महŒवपूर्ण कार्य गर्दा इष्टदेवताको पूजा गर्ने संझिने गरिन्छ । जस्तैः कुलायनको पूजा, ब्रतवन्ध, विवाह, सप्ताह, श्राद्ध आदिमा ।
विन्ध्यवासिनी
	दाहालहरुको आराध्यदेवी विन्ध्यवासिनी हुन् । विन्ध्यवासिनी देवीको मन्दिर कास्की जिल्लाको पोखरामा रहेको छ । जहाँ विन्ध्यवासिनी देवीको पूजा हरेक साँझ विहान गरिन्छ । विजया दशैंको प्रतिपदादेखि पूर्णिमासम्म विशेष पूजापाठ हुन्छ । विन्ध्यवासिनी माईलाई सदा सर्वदा दाहाल समुदायहरुले पूजा अचर्ना गर्ने गरेका छन् ।
	यसरी दाहाल वंशको सामाजिक सांस्कृतिक परिचय अन्तर्गत जन्म, विवाह र मृत्यू संस्कारको विशेष व्याख्या सहित सोरÞ्ह संस्कारहरूको संक्षिप्त चर्चा गरिएको छ । त्यस्तै दाहाल वंशको जातीय पहिचान र दाहाल समुदायले मान्य चाड पर्वहरूको सामान्य परिचय दिने प्रयास गरिएको छ, र दाहाल समुदायको लोक परम्परालाई उच्च महत्त्वका साथ समावेश गरिएको छ ।
स्रोतः दाहाल वंशावली (प्रथम संस्करण)बाट साभार